नेपालमा डेंगु को संक्रमित बढेका छन्। देशभरमा डेंगु संक्रमितको संख्या १२ सय भन्दा बढि छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितको संख्या पछिल्लो ६ महिनामा १२ सय ४१ पुगेको छ भने ७२ वटा जिल्लाहरूमा संक्रमण फैलिएको छ। यो तथ्यांक पौष १६ गतेदेखि असार ५ गते बुधबारसम्मको हो।
महाशाखाका अनुसार डेंगु संक्रमणको पुष्टि हिमाली जिल्लाहरु मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला बाहेकका ७२ जिल्लाहरुमा भएको छ। सबैभन्दा बढी डेंगु संक्रमितको संख्या भएको १० जिल्लाहरुमध्ये काठमाडौँमा १४१ जना, झापामा ११२ जना, चितवनमा ७५ जना, मकवानपुरमा ५९ जना, डोटीमा ४७ जना, तनहुँमा ४६ जना, सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुङ्गामा ४१ जना, रुपन्देहीमा २८ जना र भक्तपुरमा २७ जनामा संक्रमण भेटिएको छ।
प्रादेशिक तथ्याङ्कलाई हेर्ने हो भने सबैभन्दा बढी बागमती प्रदेशमा ४२८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १८ जनामा संक्रमण देखिएको छ। त्यसपश्चात क्रमशः कोशी प्रदेशमा २८५ जना, गण्डकी प्रदेशमा १८८ जना, लुम्बिनी प्रदेशमा १४८ जना, सुदुरपश्चिम प्रदेशमा १४० जना र मधेस प्रदेशमा ३४ जनामा संक्रमण देखिएको छ।



