मंगलबार देखि शुरू हुने टि-२० विश्वकपका लागि वीरगन्जका आशिफ शेख र कलैयाका अनिल कुमार शाहको लागि मेयर तथा उप-मेयरले पुरस्कार घोषणा गरेका छन्।
वीरगन्ज महानगरपालिकाले पुरस्कार रकम घोषणा गरेको छ भने कलैया उपमहानगरपालिकाले वृक्षारोपण गर्ने घोषणा गरेको छ। जस अन्तर्गत वीरगन्जका आशिफ शेखका लागि वीरगन्ज महानगरले प्रत्येक ३० रनमा ३० हजार रुपैयाँ, अर्धसतकका ५१ हजार र शतकमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
सोमबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले समाजिक सञ्जाल फेसबुकमा ‘वीरगन्जका छोरा आशिफ शेखको सम्मान र हौसला वृद्धिको लागि’ महानगरको तर्फबाट उक्त पुरस्कार रकम दिने लेखेका हुन्।
उता बाराको कलैया उपमहानगरपालिकाले पनि कलैयाका अनिल साहको सम्मान र मनोबल बढाउनको लागि उपमहानगरको वृक्षारोपण अभियानमा अनिलले बनाउने प्रत्येक रनमा थप वृक्षारोपण गर्ने घोषणा गरेको छ।
कलैया उपमहानगरपालिकाकी उप-मेयर रौशन परविनले टि-२० विश्वकपमा सहभागी बाराका अनिलको लागि वृक्षारोपण गर्ने घोषणा गरेकी हुन्। उनले पनि समाजिक सञ्जाल फेसबुकमा अनिलको लागि स्टाटस लेख्दै र अन्य जन समुदायलाई वृक्षारोपण गरी फोटो पठाउन आग्रह गरिन्।
अमेरिका र वेस्ट इन्डिजमा आयोजित टि-२० विश्वकपमा नेपाली टोली पनि सहभागी छ।


