टि-२० विश्वकपमा नेपालले नेदरल्याण्ड विरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ। जेष्ठ २० (जुन २) देखि शुरू विश्वकपको सातौँ खेलमा नेपालले नेदरल्याण्ड विरुद्ध आज खेल्न लागेको हो।
अमेरिका र वेस्ट इन्डिजको आयोजनामा नेपाल सहित २० वटा टोली यस वर्षको टि-२० विश्वकपमा सहभागी छन्। खेल नेपाली समयअनुसार आज राति ९:१५ बजेदेखि अमेरिकाको डालासको ग्राण्ड प्रेरी स्टेडियममा हुने छ।
समुह ‘डि’ मा नेपाल संगै श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्ड्स छन्। नेपालले आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेष्ठ ३० (जुन १२) गते, तेस्रो खेल दक्षिण अफ्रिका विरूद्ध असार १ (जुन १५) गते र बंगलादेश विरुद्ध असार ३ (जुन १७) गते खेल्ने छ।
यस अघि पनि नेपालले र नेदरल्याण्ड्स विरुद्ध ३ खेलको शृंखला खेलेको छ जसमा नेपालले एउटा र नेदरल्याण्ड्सले दुईवटा खेल जितेको छ। यसै वर्षको फेब्रुअरी २८ मा भएको खेलमा नेपाल २ रनले पराजित भएको थियो भने मार्च २ मा भएको खेलमा नेपाल ६ विकेटले जितेको थियो र मार्च ५ को खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
नेदरल्याण्ड विरुद्ध खेलमा नेपालको सम्भावित टोली: कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल, सोमपाल कामी, गुल्शन झा, ललित राजवंशी र सागर ढकाल।


