वीरगंज कलेजले आयोजना गरेको दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’ सम्पन्न भएको छ। आर्मी ब्यारेकको पश्चिम तर्फ शुक्रबार देखि लगाइएको उक्त सांस्कृतिक मेला शनिवार सम्पन्न भएको हो ।
वीरगंज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको सांस्कृतिक मेला कार्यक्रममा पर्साको सखुवा प्रसौनी गाउँपालिका प्रमुख यसवन्त यादव प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ‘सिक्दै जाउ कमाउँदै जाउ’ कार्यक्रम प्रभावकारी रहेको प्रशंसा गर्दै यसको लागि अघिल्लो आर्थिक वर्षमा यस्तो कार्यक्रमको लागि बजेट छुट्याउने बताए ।
“यो कार्यक्रम विद्यार्थीहरुको उद्यमशिलता विकासको लागि राम्रो रहेको छ । यस्तो कार्यक्रम आयोजना गरेकोमा वीरगन्ज कलेजलाई धन्यवाद र बधाई सहित शुभकामना दिन चाहन्छु ।” यादवले भने।
यस्तै विद्यार्थीहरु आजको दिनमा सानातिना व्यवसाय गरेर आ-आफ्नो क्षमता प्रदर्शन गरिरहेकोमा भोलीको दिनमा यिनै विद्यार्थीहरु व्यवसाय क्षेत्रमा अगाडी बढ्ने भनेर प्रशंसा गरे ।
उक्त कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त यादव,
वीरगंजका बरिष्ठ उपाध्यक्ष हरि गौतम,शिक्षाविद्ध नविन मिश्रा, क्याम्पस प्रमुख बिनोद गुप्ता, बिनोद मेहता, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर लगायतकाले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा पनि कलेजले यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकोस भन्दै आ-आफ्ना सान्दर्भिक भनाई राखेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो भने कलेजका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कलेजका विद्यार्थीहरुका लागि रात्रि बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत घण्टाघर भन्दा उत्तरपट्टिको फुटपाथको ठाउँमा दुई दिने मेलाको समापन समारोहमा कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य राखेका थिए ।
खानाका विभिन्न परिकारको लागि ३२ वटा स्टल राखिएको र मेलामा करिब २० हजार दर्शकले अनुगमन तथा किनबेच गरेको कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण एवम् उद्घोषण संचारकर्मी उज्वल घिमिरेले गरेका थिए।


