नेपाल तुरहा कल्याण समितिको पाँचौ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ।
पर्साको वीरगञ्ज ८ पानीटंकी स्थित डायमण्ड होटलमा उक्त साधारण सभा सम्पन्न भएको हो। नेपाल तुरहा कल्याण समितिका केन्द्रीय अध्यक्ष बिपिन साह तुरहाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा तुरहा जातिको उत्थान र प्रगतिको बारेमा छलफल गरिएको थियो।
नेपालमा २०६८ को जनगणना अनुसार जातजातिको कुल संख्या १२५ रहेको र २०७८ को जनगणनामा बढेर १४२ जातजातिको संख्या भएको भएपनि हाम्रो तुरहा जातिको नाम र पहिचान मिल्न नसकेको अध्यक्ष तुरहाले जानकारी दिनुभयो। “नेपालमा १ हजार भन्दा कम जनसंख्या भएको जातजातिको संख्या ११ रहेको र आफुहरुको जातिको जनसङ्ख्या लगभग १० हजार भएपनि सुचीमा आफ्नो जातिको नाम आएको छैन।” उनले भने।
नेपालमा १ हजार भन्दा कम जनसंख्या भएका जातिहरूमा कालर, फ्रि, कोचे, टोपकेगोला, राउटे, वालुङ्ग,ल्होमी, सुरेल, कुसुण्डा,बांकरीया र नुराङ्ग जाति छन्।
उक्त साधारण सभामा नेपाल तुरहा कल्याण समितिका केन्द्रीय उपाध्यक्ष उमेश साह तुरहा, हरिवंश साह तुरहा, कोषाध्यक्ष हरिचन्द्र प्रसाद तुरहा, महासचिव उमेश प्रसाद साह, सचिव ओमप्रकाश साह तुरहा, सदस्य जितेन्द्र प्रसाद साह, मनोज साह तुरहा र दिपक कुमार साह लगायत ५० जनाको सहभागीता रहेको थियो।
यस्तै शनिवार बसेको बैठकले आउदै गरेको होलिको अवसरमा चैत १० गते होलि मिलन समारोह आयोजना गर्ने निर्णय गरेको अध्ययन बिपिनले जानकारी दिनुभयो।


