विभिन्न ठाउँहरूमा सुपारी लिई गोली हानेर हत्या गरेका तथा कलैयामा बाल एकताका प्रिन्सिपल रुपेश सरार्फको हत्यामा मुख्य सुटर भनिएका सुजित कुमार सिंहलाई सेटिङ मिलाएर छोडाई दिन्छु भनेर पैसा ठगि गर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नं १ बस्ने २३ वर्षिय श्यामबाबु साह रहेका छन् । उनलाई सुजित कुमार सिंहको बुवा जयमंगल सिंहले दिएको जाहेरी दरखास्तको आधारमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो।
पक्राउ परेका साहले सुटर सुजितलाई छोडाउन सिंहको बुवा जयमंगल सिंहसँग १६ लाख रुपैयाँ माग गरेका थिए। उक्त कामका लागि उनले १ लाख ९० हजार रुपैयाँ पनि पाईसकेपछि सुजित सिंह कै बुवाले ठगि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका साहलाई ठगि तथा अपराधिक विश्वासघातको आरोपमा बारा जिल्ला अदालत कलैयासंग ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको तथा यस कार्यमा संलग्नको खोजी भइरहेको डिएसपी न्यौपानेले बताए ।
कहिले भएको थियो रुपेशक़ हत्या, को हुन् सुजित ?
कुमार सिंह गत कार्तिक १३ गते बाराको सदरमुकाम कलैयामा निजी विद्यालय बाल एकताका संचालक एवम् प्रिन्सिपल रुपेश सरार्फको दिन दहाडै गोली प्रहार गरेर सुटर सुजित कुमार सिंहले हत्या गरेका थिए।
हत्या गरेर फरार भएका सिंहलाई पौष १० गते भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीसँग मुठभेड हुँदा घाइते भएका थिए। घाइते भएका सिंहलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचार भईरहेको छ भने उनको स्वास्थ्य अवस्थाभा सुधार भईरहेको प्रहरीले जनाएको छ।
विभिन्न घटनामा मुख्य सुटर भनिएका सुजित कुमार सिंह भारतको मोतिहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनि बस्ने जयमंगल सिंहको ३२ वर्षिय छोरा हुन्।



